पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले कर्णाली प्रदेशलाई १६–० गोल अन्तरले पराजित गरेको हो ।
स्याङ्जाको वालिङमा भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारीले पाँच, सरु लिम्बुले तीन, रविना गोले र अनिता केसीले समान २–२ गोल गरिन् । सविता राना, गीता राना, मनमाया लिम्बु, प्रिति राईले समान १–१ गोल गरे ।
खेलको पाँचौ मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई १–० गोलको अग्रता दिलाइन् । नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई २–० गोलको अग्रता दिलाइन् । खेलको १३औँ र १८औँ मिनेटमा सावित्राले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । योसँगै एपीएफले कर्णालीविरुद्ध ४–० को अग्रता बनायो ।
खेलको १९औँ मिनेटमा सरुले गोल गर्दा २१औँ मिनेटमा प्रितिले गोल गरेपछि एपीएफ ६–० ले अघि रहेको थियो । २७औँ मिनेटमा अनिताले, ३६औँ मिनेटमा सरु र ४५औँ मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ९–० को अग्रता दिलाइन् । सविता रानाले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै एपीएफलाई १०–० को अग्रता दिलाइन् ।
खेलको ४८औँ मिनेटमा सरुले ह्याट्रिक पूरा गदै टिमलाई ११–० को अग्रता दिलाइन् । त्यसपछि ५२औँ मिनेटमा सावित्रा, ६१औँ मिनेटमा मनमाया लिम्बु, ७१औँ मिनेटमा गीता रानाले गोल गर्दै एपीएफलाई १४–० को अग्रता दिलाए । ८३औँ र ८६औँ मिनेटमा रविना गोलेले गोल गर्दै एपीएफलाई १६–० को जित दिलाइन् ।