काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल स्टारर् ‘दुई नम्बरी’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।
असोजको २१ गतेदेखि दर्शकमाझ रिलिजमा आएको ‘दुई नम्बरी’ले ८ दिनमा ४ करोड बढीको ग्रस कलेक्शन गरेको छ ।
निर्माण पक्षका अनुसार फिल्मले ८ दिनमा ४ करोड ४५ लाख ग्रस कलेक्सन गरेको हो । फिल्मको निर्माण पक्षले १३ वटा शहरको कुल बक्स अफिस कसेक्शनसमेत सार्वजनिक गरेको छ ।
फिल्मले काठमाडौंमा ८ दिनमा २ करोड २० लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । त्यस्तै फिल्मले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख र सुर्खेतमा ४ लाखको ग्रस कलेक्सन गरेको छ ।
आज शनिवारको दिनपनि मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको यस फिल्मले अन्य विभिन्न स्टेशनबाट १५ लाख ग्रस कलेक्सन गरेको छ । फिल्मले रिलिजको केही दिनमा नै लगानी उठाएको निर्माण पक्षको भनाइ छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस फिल्ममा दया र सौगातका अलवा उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।