काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल समूहका सञ्चालक इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त रेग्मी, न्यायाधीशहरू शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले तामाङलाई थुनामा राख्ने आदेश गरेको हो ।
यसअघि ठगी मुद्दामा थुनामा रहेका उनलाई विशेषले पनि थुनामै राख्ने आदेश गरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई मुद्दाको किनारा नलागेसम्मका लागि थुनामा पठाएको थियो।
सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै, एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेका विभिन्न कित्ता सेयर पनि जफत गर्न माग गरेको हो ।
तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको थियो । उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसूरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेको छ ।
प्रतिवादीहरू प्रतिक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ । विभागले प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ ।
सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सीआईबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो। तामाङ दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।