काठमाडौं । लुम्बिनी प्रदेशका सबै ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादी उम्मेदवारविहीन भएका छन् ।
सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेसले ३३, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा एकीकृत समाजवादी भने उम्मेदवारविहीन भएको हो ।
प्रतिनिधि सभा सदस्यतर्फ प्रदेशका २६ सिटमा दाङ–१, पाल्पा २, गुल्मी–२ र रुपन्देही–२ गरी ४ सिट पाएको एकीकृत समाजवादी प्रदेशसभाको प्रत्यक्षतर्फ भने शून्य उम्मेदवार भएपछि भावी प्रदेश सरकारमा उपस्थिति नहुने सम्भावनाले पार्टीभित्र असन्तुष्टी बढेको छ ।
प्रतिनिधि सभामा चार सिट पाएकाले र उनीहरुको जितका लागि कांग्रेस र नेकपा माओवादी केन्द्रको मत पनि आवश्यक पर्ने भएकाले प्रदेशसभामा टिकट नपाएको विषय एकीकृत समाजवादीका नेताहरुले उठाउन सकेका छैनन् ।
हाम्रो पार्टीले प्रदेश सभाका कम्तीमा ७ क्षेत्र मागेको थियो, तर नियोजितरुपमा एक सिट पनि दिइएन’, प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘कांग्रेस र माओवादी मात्रै मिलेर वहुमत पुर्याउने र सरकार चलाउने योजना बनाएको देखियो ।’
गठबन्धनका नाममा माओवादीले मात्रै फाइदा लिएकाले आफ्नो पार्टी अन्याय र पीडामा परेको उनको दुखेसो छ ।