काठमाडौं । लिवर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण बिहीबार आज देखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा स्थित २५ मेगावाट क्षमता सो आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको थियो ।
आयोजनाका राजेन्द्र वस्तीले भने, ‘हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गरौं, निर्माण सम्पन्न भएपछि आयोजनाको उत्पादित बिजुली आजदेखि परीक्षण सुरु गरेका छौं ।’ बिहीबार र शुक्रबार दुई दिन मेसिन जडान गर्न समय लाग्ने उनको भनाइ छ ।
‘नेपाल विद्युत् प्राधिकरणको अनुमति र प्राधिकरणबाट कर्मचारीको उपस्थिति भएसँगै परीक्षण सुरु भएको छ । १५ दिन जति परीक्षण गर्छौं, सफल भएमा हामी व्यावसायिकरुपमै कात्तिकदेखि नै बिजुली उत्पादन गर्न थाल्ने छौं’ उनले भने ।
यस आयोजनाको बाँकी रहेको काम पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएपछि उक्त समयमा बिजुली उत्पादन गर्न असफल भए पनि ती सबै काम सम्पन्न गरेर यतिबेला बल्ल उत्पादित बिजुली परीक्षण अघि बढेको आयोजनाले जनाएको छ ।
उनले भने , ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र दुई हजार सात सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत् गृहमा झारिएको छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माणकार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि यसको लागतसमेत बढेको बताइएको छ ।
सो आयोजना २०७१ सालदेखि निर्माण थालनी गर्दै २०७४ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो । तर भूकम्पपछिको अघोषित नाकाबन्दी र २०७६ भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।