काठमाडौं
गएराति देशका अधिकांश स्थानमा परेको भारी वर्षाका कारण पहिरो र बाढीको संभावना बढेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सिन्धुपाल्चोकमा जोखिम बढेको भन्दै त्यहाँका स्थानीयलाई पहिरो र बाढीबाट सजग हुन विभागले आग्रह गरेको छ ।
उक्त जिल्लाको बलेफी जलाधारमा अतिभारी वर्षा भएकाले एक्कासी बाढी आउन सक्ने भन्दै बिहान ३ बजे बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको थियो । उक्त क्षेत्रमा बिहान साढे ४ बजे ठूलो बाढी आएको भन्दै बलेफी तटीय क्षेत्रका स्थानीयलाई सचेत गराएको थियो । बिहान १० बजेसम्म सजग रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपास भारी वर्षा भएपछि उक्त क्षेत्र भएर बग्ने नदीमा बहाब बढेको छ । उक्त ठाउँका मेलम्ची, ईन्द्रावती र अन्य साना सहायक नदीमा आकस्मिक बाढी बढेको हो । राति १२ बजेदेखि बिहान ६ बजेसम्म रसुवा, धादिङ, इलाम, पाँचथर, रसुवा, दोलखा लगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ ।
त्यसैगरी नवलपरासी, रुपन्देही, कपिलवस्तु र आसपास क्षेत्रमा पनि भारी वर्षा भएको छ । उक्त क्षेत्रका सबै नदीमा पानीको बहाव बढेको छ । विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र अन्य प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मध्यान्हपछि मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले बुधबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा मंगलबार र बुधबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।