काठमाडौं
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने चलन छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिएको छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।
यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने चलन छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भीड कम गर्न सरकारले आह्वान गरेको छ ।
यसैविच जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन पनि छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको भयकै कारण उत्सव छैन ।