काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्रीसहित १० जना मन्त्री पुनः उम्मेदवार बनेका छन् । मुख्यमन्त्री राजेन्द्र राईसहित ९ जना मन्त्री प्रदेशमा र एक जना मन्त्री प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।
प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकाल पूरा गरेका ९३ प्रदेशसभा सदस्यमध्ये २९ जना पुनः प्रदेशसभाको उम्मेदवार बनेका छन् । दुई पूर्वमुख्यमन्त्री सहित चार जना प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन राईले भोजपुर र दोस्रो मुख्यमन्त्री भीम आचार्य सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
प्रदेशका पूर्वमन्त्री जगदिश कुसियत सुनसरी–४ र वर्तमान खानेपानी तथा सिँचाइ मन्त्री रामकुमार राई नेकपा माओवादी केन्द्रबाट खोटाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
नेकपा एकीकतृ समाजवादी पार्टीका सचिव तथा मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा (क), माओवादी नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो पाँचथरको (क), स्वास्थ्य मन्त्री तथा जसपा नेता जयराम यादव मोरङ ५ (खं), माओवादी नेता तथा कृषिमन्त्री झलकबहादुर मगर झापा–४ (ख) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् ।
वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा कांग्रेसबाट मोरङ–३ (क), पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा नेकपा एकीकृत समाजवादीबाट इलाम–१ (क) बाट उम्मेदवार बनेकी छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की कांग्रेसबाट उदयपुर–१ (क), आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की कांग्रेसबाट मोरङ–६(ख) बाट उमेदवार बनेका छन् ।
सामाजिक विकासमन्त्री एकीकृत समाजवादीका नेता राजन राई, कांग्रेस नेता भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी र उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले टिकट नै पाएनन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेले पनि प्रत्यक्ष निर्वाचनका लागि टिकट पाएकी छैनन् ।