काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट दिएको प्रतिनिधि सभा सदस्यको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लले निर्वाचन अधिकृतको कार्यलयमा सोमबार आज उजुरी दर्ता गराएका छन् ।
मल्लले देउवाको नागरिता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति देखिएको भन्दै देउवाको उम्मेदवारी रद्ध गर्न माग गरेको छ ।
आयोगले मल्लको उजुरी दर्ता गर्दै यसबारे छानबिन गरेर निर्णय गर्ने बताएको छ । कुनैबेला प्रधानमन्त्री देउवाकै स्वकीय रहेका मल्ल पछिल्लो समय उनीविरुद्ध राजनीतिमा उत्रिएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनको क्रममा देउवा पक्षको विरुद्धमा डडेलधुरामा आन्दोलन नै गरेका मल्ललाई सधारण सदस्य समेत नरहने गरि कांग्रेसले कारबाही गरेको थियो ।
त्यसपछि नेपाली कांग्रेस बीपीतिर लागेका मल्लले देउवालाई चुनौति दिँदै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।
यसैबीच, डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’
देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए । उनले भने, ‘उजुरीमाथि छानबिन गर्न भोलिसम्म समय छ । भोलिसम्म हामी निर्णय गर्छौ ।’
उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।