काठमाण्डौं, ११ मंसिर । सरकारले विशेष कार्यक्रमका साथ आज सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो ।
काठमाडौंको प्रज्ञा भवनमा आज विहान साढे ११ बजे हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको घोषणा गर्नुहुनेछ ।
पहिलो चरणमा योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने मन्त्रालयले जनाएको छ । यस्तै दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभयो ।
सन्देशमा उहाँले आजदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ ।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात भएको बताउनु भएको छ ।
उहाँले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिल गर्नुभएको छ ।