काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलीय तथा स्वतन्त्र गरी सयौं उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारी दर्ताको दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश शीर्ष नेताहरु आफै निर्वाचन क्षेत्रमा गएर मनोनयन दर्ता गराएपनि केही नेताले भने सहयोगीमार्फत उम्मेदवारी दर्ता गरेका छन् ।
प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्नुभएका देउवा सातौँ पटक उम्मेदवार बन्नुभएको छ । यसपटक भने देउवाले कुनै समयका उहाँकै सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालको चुनौती सामना गर्नुपर्ने देखिएको छ ।
एमाले अध्यक्ष केपीशर्मा ओलीेले आफैं झापाको क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोर्खाको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र परिर्वतन गर्ने नेताको छवि बनाउनुभएका दाहालले डा। बाबुराम भट्टराइलाई लिएर उम्मेदवारी दर्ता गराउनुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालविरुद्ध अब्दुस मियाले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट क्षेत्र नम्बर १ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता पौडेललाई चुनौती दिँदै नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले सोही क्षेत्रबाट स्वतन्त्र हैसियतमा टक्कर दिनुभएको छ । आफ्ना समर्थकहरुको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफ्ना सदावहार प्रतिस्पर्धी गोविन्दराज जोशीको बागी उम्मेदवारी झेल्नुपर्ने भएको छ । सधैं झैं कांग्रेस नेता प्रकाशमानसिंह काठमाडौं क्षेत्र नम्बर एकबाट प्रत्यासी बन्नुभएको छ ।
कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ र लोसपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफैं झापाको क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले आफै चितवनको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ मा उम्मेद्वारी दर्ता गराउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले काठमाडौ ५, अर्का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ र संविधानसभाका अध्यक्ष समेत रहनुभएका उपाध्यक्ष सुवास नेम्वाङले इलाम २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले महासचिव शंकर पोखरेलले दाङ २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपा एसका नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।
लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराउँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र रायले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौ क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दर्ता गराउनुभएको छ भने अर्थमन्त्री रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राप्रपाका वरिष्ठ नेता दिपक बोहराले एमाले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्बपति विनोद चौधरीले नवलपरासी पश्चिम १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।