काठमाडौं । निर्वाचन आयोगले आइतबार भोलि हुने उम्मेदवारी मनोनयनको तयारी पूरा गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत निर्वाचन आयोगकाका प्रमुख आयुक्त दिनेश थपलियाले मनोनयनको तयारी पुरा भइसकेको बताएका हुन् ।
आयुक्त थपलियाले ७७ वटामै निर्वाचन कार्यालय स्थापना गरिसकेको बताए । सबै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मनोनयन दर्ताको तयारी गरिरहेको उनले बताए ।
भोलि बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयनको आवश्यक व्यवस्थापन गरिसकेको उनले बताए । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गरे ।
कारण बस् मतदान प्रक्रिया स्थगित हुनसक्ने भए पनि मनोनयन प्रक्रिया कुनै हालतमा रोकिन नसक्ने उनको भनाइ छ । उम्मेदवार चयन गर्दा समावेशी र समानुपातिकतालाई ख्याल गर्न उनले आग्रह गरे ।
उनले आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । राजनीति दलहरूलाई आयोगबाट हुनसक्ने सहयोग पूर्ण रूपमा हुने उनले बताए । उनले निर्वाचनको दिन व्यवस्थित ढंगबाट सार्वजनिक यातायातको साधन चलाउने समेत बताए ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जनाभन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर चुनावको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरुलाई रोक लगाइएको बताए ।
थपलियाले यसअघि चुनावका दिन नेपाल बन्द आह्वानको दिनजस्तो भएकाले त्यसो हुन नदिन पनि आयोगले यस वर्ष मंसिर ४ गते हुने चुनावका लागि गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गर्नु परेको बताए ।
निर्वाचन आयोगले चुनावलाई निष्पक्ष ढङ्गले सम्पन्न हुने गरी निर्वाचन सुरक्षा व्यवस्था पनि मिलाइएको जनाएको छ।