काठमाडौं । नेकपा एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी छाड्ने घोषणा गरेका छन् । नेता भुसालले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले छाड्ने घोषणा गरेका हुन् ।
उनलाई जिल्ला कमिटीले रुपन्देहीबाट आउँदो चुनावमा उम्मेदवारको लागि सिफारिस गरे पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भुसालले पार्टी छाड्ने निर्णय गरेका हुन् ।
देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र नागरिकलाई गोलबन्द गर्दै नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरे पनि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ओलीको दम्भमा फस्दै गएको भुसालले आरोप लगाए ।
गएको महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीतको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गरेको र त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गएको भुसालले बताए ।
आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढेको र अहिले एमाले केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको आरोप छ ।
‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
यसैबीच, भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले आज दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् ।
निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने जनाइएको छ ।