काठमाडौं । नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ बजेर ५५ मिनेटको समयमा फेरि खतराको तह नाघेको छ ।
देवघाट मापन केन्द्रमा नारायणीको तह ९.८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदीको नारायणघाट पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ ।
त्यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको सतह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए ।
नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ । भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरे । भरतपुर महानगरका २९ वडामध्ये १२ वटा वडा बाढीको जोखिममा छन् ।
यसैबीच, लगातारको वर्षका कारण भेरी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।
पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ । भेरी नदीको जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।
भेरी नदीमा ४ दशमलव ५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जल स्तर खतराको तह पार गर्दै ५ दशमलव २३ मिटर पुगेको छ ।
अहिले पानी परिरहेकाले आउँदो ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन् ।
बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित ठाउँमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।