काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । आज पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ ।
अब प्रहरीले सुरुमा सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ । स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरु गर्नेछ ।
फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ ।
पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ ।बिहीबार सन्दीप पक्राउ परे लगत्तै अब प्रहरीले २४ घण्टाभित्र अदालतबाट अनुसन्धानका लागि म्याद लिनुपर्ने हुन्छ ।
बन्दी प्रत्यक्षीकरणका लागि उच्च र सर्वोच्च अदालत तथा पक्राउ पुर्जी लिने प्रयोजनका लागि काठमाडौँ जिल्ला अदालत खुला रहेको भए पनि म्याद थप गर्नका लागि भने असोज २४ गते सोमबार अर्थात् पूर्णिमाको भोलिपल्टसम्म कुर्नुपर्ने हुन्छ ।
सामान्यता जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी जाहेरीमा अनुसन्धानका लागि पहिलो पटक १० दिनको समय दिने गरिन्छ । त्यसपछि सात दिन र त्यसपछि पनि अनुसन्धान नसकिएमा अर्को सात दिन वा पाँच दिनको समय अदालतले दिने गरेको छ ।
पक्राउ परेको मितिले २४ दिनसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ र २४ औँ दिन सार्वजनिक बिदा परेमा त्यसपछि अदालत खुलेको दिन अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ ।
गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलत्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।