काठमाडौँ । मनसुनी गतिविधि सक्रिय भएर बुधबार रातभर तथा बिहीबार बिहान परिरहेको भारीदेखि धेरै भारी वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ ।
चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दांग जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो । आकश्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बिहान गरिएको मापनमा चितवनको देवघाटमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । ७.३ मिटर पानीको सतह रहेकोमा लगातार पानी परिरहेकाले अझै बढ्दो क्रममा रहेको जनाइएको छ । चितवन नवलपरासीको तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।
यस्तै लगातारको वर्षाका कारण पश्तिम राप्ती नदीमा पानीको सतह खतराको तह पार गर्दा बाँके, दांगसहितका जिल्लाले सूचना निकालेर सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । राप्ती नदीमा पानीको सतह बुधबार राति नै खतराको तह भन्दा माथि पुगेको हो ।
बिहान पनि पानी परिरहेकाले सतह थप बढ्दा बाढीको उच्च जोखिम रहेको हो ।
दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढेको छ । पश्चिम राप्ती र बबई नदी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको दांगका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।