काठमाडौं । देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो अति ठूलो वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह छ । यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै ठाउँ अत्यधिक वर्षा हुने अनुमान रहेको मौमसविद् गंगा नगरकोटीले बताइन् ।
सोमबार बेलुका पूर्वी क्षेत्रबाट सुरु भएको पानी पर्ने क्रम मध्यपश्चिम हुँदै पश्चिमी क्षेत्रमा पुग्दै छ । आज देशैभर बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।
उनका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ । लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने मौसमविद्ले चेतावनी दिएका छन् ।
यस्तै, यस वर्षको दशैँ वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले टीका लगाउन जाँदा खहरे खोलानालाहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् ।
यस्तै, आजदेखि आउँदो शनिवार तीन दिनसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान छ । बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
यसैबीच, प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ । यी जिल्ला भइ बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।