काठमाडौं । सरकारले दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बजार अनुगमन तीव्र तुल्याइएको हो ।
वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए ।
वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्था विभाग, औषधि व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली फिल्डमा खटिएको भट्टराईको भनाइ छ । यसबाहेक, वाणिज्य विभागको टोलीले दैनिक बजार अनुगमनसमेत गरिरहेको उनले बताए ।
खासगरी, हाल देशमा बजार अनुगमन गर्ने अधिकार पाएका ९२५ वटा निकाय छन् । ७५३ वटा स्थानीय तहलाई बजार अनुगमनको विशेषाधिकार दिइएको छ ।
यस्तै, प्रदेश सरकार अन्तर्गतका वाणिज्य विभाग, ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७३ वटा इलाका प्रशासन कार्यालय र संघीय सरकार अन्तर्गतका ९ वटा विभाग छन् । तर पनि बजारमा उपभोक्ता ठगिने क्रम जारी छ ।
खासगरी, पर्याप्त निकाय भए पनि ती निकायसँग विज्ञ कर्मचारी नहुँदा बजार अनुगमन फिक्का बनिरहेको छ । यस्तै, बजार अनुगमन गर्ने यति धेरै निकायबीच आवश्यक समन्वय नहुँदासमेत समस्या भइरहेको छ ।