काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।
सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो ।
तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए । खेलको १७ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
तर, खेलको १८ औं मिनेटमा अञ्जनको गोलबाट नेपालले सुरुआती अग्रता बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरे ।
२७ औं मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको बलमा तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गर्दै बाहिर फाले ।
त्यही रिबाउन्ड बलमा अन्जनले उत्कृष्ट फिनिस गर्दै पोस्टको जाली चुमाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।
नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे ।
यससँगै अन्जन नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन् । राष्ट्रिय टोलीका लागि अन्जनको यो १० औं गोल समेत हो ।
यस अघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।