काठमाडौं । सरकारले चाडपर्वका बेला गाडी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।
गाडी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा गाडी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
समितिले नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा ठाउँ पहिचान गरी टाइम कार्ड लागू गर्नेसहित विभिन्न १४ निर्णय गरेको छ ।
समितिका संयोजक गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा गाडीको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने तथा त्यसका लागि आवश्यकतानुसार अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले हरेक सार्वजनिक गाडीमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बरलगायतका आवश्यक सूचना रहेको स्टिकर, दुर्घटना भएमा सङ्केत गर्ने वस्तु राख्ने र गाडी स्यानिटाइज गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
चालकले अस्वाभाविक किसिमले गाडी चलाएमा गुनासो गर्न फोन नम्बर सार्वजनिक गर्ने र त्यस्तो गुनासो सुनी तत्काल परिचालित हुन सबै प्रहरी युनिटलाई निर्देशन दिने गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।
गृह मन्त्रालयबाट प्राप्त जानकारीअनुसार यातायात व्यवस्था विभागबाट यही असोज ९ गतेदेखि मध्यम तथा लामो दूरीमा चल्ने गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा उपत्यकाका मुख्य–मुख्य ठाउँमा यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ ।