भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित शुभ भावना बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभाले राजु लुवन्जार श्रेष्ठको अध्यक्षता सञ्चालक समिति चयन गरेको छ ।
शनिवार सम्पन्न संस्थाको १४ औं बार्षिक साधारण सभाबाट उपाध्यक्ष दिनेश जयना, सचिव सुमन न्यौपाने, कोषाध्यक्ष विनोद खड्का तथा सदस्यहरुमा पूर्ण श्रेष्ठ, राधेश्याम राजथला तथा सन्तोषी श्रेष्ठ चयन भएका छन् । यसैगरी संस्थाको लेखा समिति संयोजक सुरेन्द्र श्रेष्ठ तथा सदस्य रोहित श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारीको सिद्धान्तअनुसार सञ्चालन भएका सहकारी संस्थाले शेयर सदस्यहरुको वित्तिय विकासमा समेत विशेष योगदान गर्दै आएको बताए ।
यस्तै संस्थाका अध्यक्ष अनिल मानन्धरले कुनैपनि सहकारी संस्था अगाडि बढ्नका लागि मूल आधार भनेको शेयर पुँजी भएकाले यसै बर्षदेखि प्रत्येक सदस्यहरुलाई कम्तिमा ५० कित्ता शेयर अनिवार्य रुपमा प्रदान गरिने बताए ।
संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विनोद खड्काले संस्थाले सहकारीको सिद्धान्त अनुरुप छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै शेयर सदस्यहरुको आर्थिक समद्धिमा यथासम्भव योगदान दिएको बताए ।
साधारण सभाबाट आगामी कार्यकालको लागि चयन भएका नयाँ सञ्चालन समितिलाई बधाई एवं शुभकामना दिँदै निवर्तमान अध्यक्ष अनिल मानन्धरले नेतृत्वमा सामूहिक भावना विकास हुन सके मात्र संस्थाले आफ्नो उद्देश्य प्राप्त गर्ने बताए । मानन्धरले मुलुकमा विद्यमान विविध चुनौतीका बाबजूद पनि संस्थाले उल्लेखनीय आर्थिक प्रगति गरेर आफ्ना शेयर सदस्यहरुमा त्यसको लाभ बाँड्न सकेकोमा खुशी लागेको बताए ।
संस्थाका नवनिर्वाचित अध्यक्ष राजु लुवन्जार श्रेष्ठले सहकारीको सिद्धान्त र भावनाअनुसार अगाडि बढ्न सामूहिक नेतृत्वको आवश्यकता पर्ने भएकाले त्यसलाई आफूले सदैव आत्मसाथ गर्ने बताए । श्रेष्ठले संस्थागत पारदर्शिता र वित्तिय अनुशासनलाई अझै चुस्त दुरुस्त पारेर अगाडि बढ्न आफ्नो नेतृत्व सदैव सचेत रहने बताए ।