काठमाडौं । नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक जारी छ । बुधवार (आज)देखि काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक सुरु भएको हो ।
बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिङ्क नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह–डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।
त्यस्तै कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ ।
नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगङ्गा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।
नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा छलफल हुनेछ ।