काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो महिना भदौमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको विद्युत् भारततर्फ निर्यात भएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।
सुरुमा दुईवटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो ।
त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ ।
भदौमा मात्र विद्युत् बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।