आन्तरिक विवादका कारण प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुन सकिरहेको छैन । तर दुवै नेताहरुले भने आ—आफ्ना खेमाका नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन् ।
विवादका सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्ना निकटस्थ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, महासचिव विष्णु पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुसँग छलफल गर्नुभएको छ ।
पार्टीमा जारी विवादका सन्दर्भमा हिजोआज बालुवाटारमा नेताहरुको बाक्लो उपस्थिति हुनेगरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग पनि छलफल चलाइरहनुभएको छ ।
यता प्रचण्ड निकट मानिने स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलीसँग मिल्न दबाब दिएका छन् । स्थायी कमिटीका पाँच जना नेताहरुले अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर छलफल गर्दै ओलीसँग मिल्न दबाब दिएका हुन् ।
स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा, चन्द्रप्रकाश खनाल र जनार्दन शर्माले प्रचण्डलाई ओलीसँग मिल्न दबाब दिएका हुन् ।
गएको साउन १३ गते दुई अध्यक्षबीच जारी स्थायी कमिटीको बैठक बोलाउने विषयमै विवाद भएपछि नेकपाले समस्या समाधानको जिम्मा दुई अध्यक्षलाई दिएको छ ।
१० असारबाट सुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको बहुमत सदस्यहरुले राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।