काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
सोमवार आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलहरूले आउँदो चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।
आयोगले आइतवार र सोमवार गरी दुई दिन समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।त्यही समयावधिभित्र राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची आयोगमा पेस गरेका छन् ।
सत्तारूढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।
उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली कांग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरू रहेको बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीको तर्फबाट नेपाल समाजवादी पार्टी डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई पाँच सिटसहित प्रतिनिधि सभामा समानुपातिकतर्फ एक सय १० उम्मेदवारको सूची बुझाएको बताए ।
त्यस्तै राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले एक सय १० वटै बन्दसूचीका नाम पेस गरेको बताए । प्रतिनिधि सभामा समानुपातिक पद्धतिबाट एक सय १० जना र सात वटा प्रदेश सभामा दुई सय २० जना उम्मेदवार हुनेछन् ।
समानुपातिक पद्धतिमा मतदाताले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट सांसद निर्वाचित हुन्छन् ।