काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा ५६७ जना र प्रदेश सभातर्फ ९४९ जनाको नाम सिफारिस भएको छ ।
संघीय सांसदका लागि समानुपातिकतर्फ कुल ११० जना र प्रदेश सभातर्फ कुल २२० जना हुने व्यवस्था छ ।
तर, माओवादी प्रदेश कमिटीबाट ठूलो संख्यामा संघ र प्रदेश राखिने समानुपातिक नाम सिफारिस भएपछि फाइनल सूची तयार पार्न सकस परेको हो ।
सबैभन्दा बढी मधेस प्रदेशबाट ३२६ जना र सबैभन्दा कम कर्णाली प्रदेशले १६ जनाको नाम समानुपातिकका लिष्टमा सिफारिस गरेको एक पदाधिकारीले बताए ।
यस्तै प्रदेश नम्बर एकले ५२ जना, बागमती प्रदेशले ४४ जना, गण्डकी प्रदेशले ४४ जना लुम्बिनी प्रदेशले ३५ जना र सुदूरपश्चिम प्रदेशले ९३ जनाको नाम सिफारिस गरेको छ ।
अरु तीन गैरभौगोलिक गरेर कुल ९४९ जनाको प्रदेशसभा समानुपातिकमा नाम सिफारिस भएको ती पदाधिकारीले बताए ।
आवश्यकताभन्दा बढी संघ र प्रदेशमा समानुपातिक लिष्ट पठाएपछि केन्द्रलाई निर्वाचन आयोगमा बुझाउने लिष्ट तयार पार्न टाउको दुखाइ भएको हो ।
माओवादीको आइतबार बसेको पदाधिकारी बैठकले समेत समानुपातिक लिष्ट धेरै भएकाले फाइनल गर्न सकेन ।
पार्टी पदाधिकारीले संघ र प्रदेशसभामा बस्ने समानुपातिक लिष्ट तयार गर्न नसकेपछि सम्बन्धित प्रदेशलाई पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको छ ।
पार्टी पदाधिकारीले समानुपातिक लिष्ट छान्न नसकेपछि सम्बन्धित प्रदेशलाई पुनर्विचार गरेर पठाउन निर्देशन दिएको बैठकपछि पार्टी सचिव गणेश शाहले बताए ।