धनगढी - विगतको वर्षमा झै चालू आर्थिक वर्षको हिउँदे सिजनमा पनि रासायनिक मलको अभाव भएको छ । आलु, तोरी, गोहु, तरकारीलगायत हिउँदे बाली रोप्ने बेलामा रासायनिक मलको हाहाकार भएपछि सुदूरपश्चिमका किसानहरु हैरानी खेप्नु परेको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरका स्थानीय कृषक कालुराम डंगौराले मल अभावको कारण हिउँदे बाली प्रभावित हुँदै गएको दुखेसो सुनाए ।
‘के भन्नु हजुर, मल नभएर आलु, तोरी छर्ने समय खेर गइरहेको छ । जमिनको ओट सुक्दै जान थालेको छ । मल आउने अत्तोपत्तो छैन । कहिले कुन, कहिके कुन सहकारी धाउनमै समय बितिरहेको छ । मल नपाउँदा मन खिन्न भएको छ’, कालुरामले आफ्नो पिरलो सुनाए । यहाँका कतिपय किसानले बर्खे सिजनदेखि मल हात नपरेको समेत बताएका छन् ।
बर्खे सिजनमा यूरिया बिना नै धान रोपेका किसानलाई हिउँदे सिजनमा पनि अभाव खेप्नु पर्दा पर्नु पीर परेको हो । आजभोलि मल खोज्नमै समय बितिरहेको बताउँदै कैलालीको कैलारी गाउँपालिका–५ पवेराका स्थानीय कृषक वीरकुमार चौधरीले भने–‘मल अभावमै धान रोप्यौ । हाल तोरी छर्ने बेलामा त्यहि परेसानी । किसानलाई नयाँ शासन व्यवस्था भनेको कागलाई बेल पाक्यो हर्ष न विस्मात झै भयो ।’
सरकारी अनुदान रहेको रासायनिक मल सुदूरपश्चिम प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसन मार्फत सहकारी संस्थाले बिक्रि वितरण गर्दै आएका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड ७० प्रतिशत र साल्ट ट्रेडिङ कार्पोरेसनले ३० प्रतिशत मलको आपूर्ति गर्दै आएको हो । तर यहाँको माग अनुसारको उक्त दुबैलेु कम्पनी मलको आपूर्ति गर्न नसक्दा प्रायः सबै सिजनमा यहाँका किसानले मलको अभाव झेल्दै आएका हुन् ।
गौरीगंगा नगरपालिका–१० स्थित बीज बृद्धि कृषि सहकारी संस्थाका अध्यक्ष गौरीलाल चौधरीले मलको खोजीमा दैनिक दर्जनौं किसानहरु सहकारीमा आएर रित्तै फर्किरहेको बताए । थोरै परिमाणमा आउने मल केहि घण्टामै रित्तिदै आएको जनाए ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका निमिक्त प्रबन्धक दुर्गाप्रसाद पाण्डेले नियमित रुपमा मल आपूर्ति भैरहेको जिकिर गरे । माग भन्दा कम परिमाणमा आपूर्ति हुँदै आएकोले केहि अभाव देखिएको उनको भनाई छ । उनका अनुसार एक वर्षमा मुलुकभर ७ लाख मेट्रिक टन मलको आवश्यकता पर्दछ । तर आपूर्ति करिब ३ लाख मेट्रिक टन अर्थात ४२ प्रतिशत मात्रै हुँदै आएकोले अभाव सिर्जना हुँदै आएको हो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा हिउँदे सिजनमा डिएसी मलको माग २ हजार ५ सय मेट्रिक टन रहे पनि ९ सय टन मात्रै आपूर्ति भएको छ । भने यूरिया मलको माग ५ हजार मेट्रिक टन रहेकोमा ६ सय टन मात्रै आपूर्ति भएको जनाइएको छ । मलको अभावको बेला दुई वितरक कम्पनीबीच बेलाबखत एक आपसमा आरोप प्रत्यारोप समेत हुँदै आएको छ ।
एक अर्काले कम मल आपूर्ति गर्दै आएको भन्दै एक आपसमा आरोप समेत लगाउँदै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका निमिक्त प्रबन्धक पाण्डेले साल्ट ट्रेडिङले हिउँदे सिजनमा मल आपूर्ति समेत नगरेको आरोप लगाउँछन् । तर साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले भने कोटा बमोजिमको मल वितरण गरेको दाबी गर्दै आएको दाबी गर्दै आएका छन् ।
मल वितरण कम्पनीले मलको सहज आपूर्तिको लागि सरकारले मलको कोटा बढाउनुपर्ने बताउँछन् । साथै किसानले पनि रासायनिक मलको प्रयोग भन्दा प्रांगरिक मलको प्रयोग तर्फ ध्यान दिनुपर्नेमा जोड दिदै आएका छन् ।