काठमाडौं । महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध प्रमाण पेस गर्नका लागि संसदीय छानबिन समितिले माग गरेपछि नेपाल बार एशोसियसनले बैठक बोलाएको छ।
प्रतिनिधि सभामा दर्ता भएको महाभियोगका लागि प्रमाण पठाउनेबारे छलफल गर्न शुक्रबार नेपाल बार एशोसियसन र सर्वोच्च बार एशोसियनको संयुक्त बैठक बसेको हो। नेपाल बारका अध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष, सचिवलगायत अन्य पदाधिकारीहरु बैठकमा सहभागी रहेका छन्।
सर्वोच्च बारका सदस्य विकास भट्टराईका अनुसार सर्वोच्च बारको भवनमा बैठक चलिरहेको छ। संसद्को छानबिन समितिले राणाविरुद्धका प्रमाणहरु पेस गर्न ३ दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशन गरेको थियो।
राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाभियोग ‘अध्ययन’ गरिरहेको समितिले शुक्रबार आज सार्वजनिक सूचना जारी गर्दै महाभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन अनुरोध गरेको हो।
बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकले राणाविरुद्धको महाभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो।
फागुन १ गते सत्ता पक्षका ९८ सांसदले राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए। महाभियोगसँगै राणा निलम्बनमा परेका थिए। राणाविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीश र कानुन व्यवसायीले लामो समय आन्दोलन गरेका थिए।
बारले राणामाथि विभिन्न आरोप लगाउँदै दलहरुलाई महाभियोग लगाउन आह्वान नै गरेको थियो। संसदीय समितिले भदौ २० गतेसम्म महाभियोगलाई प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ। संसद्को कार्यकाल समाप्त हुनुअघि नै त्यसलाई टुंगोमा पुर्याउने भन्दै छानबिन समितिले सोही अनुसारको कार्यविधिसमेत तय गरेको छ।