काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईले शुक्रवार आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले आउँदो चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गरे ।
न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले देशको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै त्यही आवश्यकता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे।
उनले भने, ‘आज यो गठबन्धनको कारणले देश सङ्कटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरू बिग्रिराखेको छ । महाशक्ति राष्ट्रहरू नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन् । अहिलेको सरकारको कारणले नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ । त्यसो भएको हुनाले विश्व समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने, असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक पर्छ र त्यो नेकपा एमाले हो । यिनै कुराका साथ हामी चुनावमा जान्छौँ । बहुमत ल्याउने सङ्कल्पका साथ एमाले जान्छ ।’
सचिव भट्टराईले आउँदो चुनावमा अन्तरघात नहुने गरी पार्टीको सिङ्गो पङ्क्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए। उनले पार्टीको उम्मेदवार चयनमा पालिका चुनावमा भएका कमजोरी आउँदो चुनावमा दोहोरिन नदिने बताए।
उनले आउँदो चुनावमा आफ्नो पार्टीको प्राथमिकता गठबन्धन नभएको पनि स्पष्ट पारे। संवैधानिक व्यवस्थाअनुसार चुनावमा दलहरूबीच प्रतिस्पर्धा हुने भएकाले आफ्नो दल आफ्नै सामर्थ्यमा उभिएर चुनावमा जाने उनको तर्क थियो ।
सचिव भट्टराईले आउँदो चुनावमा आफ्नो पार्टीले इमानदार र जित्न सक्ने नेताहरूलाई उम्मेदवार बनाउने मापदण्ड तय गरेको पनि बताए ।