काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्तालगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको हो ।
बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।
काठमाडौं उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएका छन् ।
सडक र गाडी चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् ।
त्यस्तै, कैलालीमा बन्दकर्ताले दुई ठाउँमा विष्फोटक पदार्थ राखेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलको सडकखण्ड र हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको कैलाली प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली गएको छ ।
यस्तै, दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगजनी गरि भागेका थिए । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ ।