काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पङ्कजकुमार बर्मनले जानकारी दिए ।
प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिनेछ भने ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै गिरिको निधनबाट स्तब्ध मर्माहत भएको जनाएको छ । उनले कांग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुयाएको योगदान सधैँ स्मरणीय रहेने विज्ञप्तिमा भनिएको छ । नेपाली कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरिले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभङ्गा, पटना, बनारस र दिल्लीमा झन्डै दुई दशक बिताएका थिए ।
गिरि नेपाली कांग्रेसमा वीपी कोइरालाका समकालीन धनुषाका कांग्रेस नेता मित्रलाल गिरिका छोरा हुन । नेपाली कांग्रेसभित्रै रहे पनि स्वतन्त्र चिन्तन र नेतृत्वको आलोचनाका कारण गिरि दलभित्र अल्प समूहमै पर्थे ।
नेपाली राजनीतिमा निष्ठावान राजनीतिज्ञका रुपमा परिचित गिरिले १४/१५ वर्षको उमेरदेखि नै राजनीतिक अभियान सुरु गरेका थिए । सादगी जीवन र प्रष्ट दृष्टिकोण राख्ने नेता गिरि २०५१ सालको मध्यावधि चुनावमा सिरहाबाट विजयी भएका थिए ।