काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहदुर कुँवरले कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार (आज) काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरुमा समानता हुनुपर्ने बताएका हुन् ।
अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुकातर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी दिए। अस्थायी करार र ज्यालादारी कर्मचारीहरुका आफ्नै ब्यथा छन ।
सँगैको साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरुको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन्, मन्त्री कुँवरले भने, अर्को सँगैको साथी बिसौँ वर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर उसले जागिरबाट फर्कदाखेरि रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ ।
मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरु समेटिनुपर्ने बताए।
समाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको तथ्यांक संकलन गरी अर्थ मन्त्रालयमा फाइल पठाइसकिएको पनि उनले बताए ।