काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन्। भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो।
उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानुनी एवं प्रक्रियागत सुधार गरेको बताएका छन्।
उनले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको, एकद्वार नीति अवलम्बन गरेको बताए। उनले नेपालको आर्थिक विकासका लागि नेपालको निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताएका छन्।
नेपालमा गरिने लगानीका लागि भारत एवं चीनलगायत प्रमुख बजार रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताउँदै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए।
उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्त्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताएका हुन्। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, यूनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गरेका हुन्।
उनले सिमेन्ट, खानी, जलविद्युत्, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको बताए। ७७ वटा नेपाली उत्पादनलाई अमेरिकाले भन्सार र कोटारहित सुविधा दिएको जानकारी गराउँदै नेपालमा उच्च प्रतिफलको सम्भावना रहेको ढकालले बताएका छन्।