काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ ।
बिहीबार भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।
यस अघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्तासँगै विभिन्न क्षेत्रबाट उठेका प्रश्न र सुझावलाई ख्याल गर्न संसद्लाई सन्देश पठाएकी थिइन् । नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक रहेकोमा राष्ट्रपतिले जोड दिएकी थिइन् ।
नागरिकता सम्बन्धी कानुनी अभ्यास र परम्पराको विश्लेषण गर्दै यसबारे संसदमा अझ गहिरो गरी छलफल गर्न उनको आग्रह थियो । यसैगरी नागरिकता ऐन २०६३ तथा प्रतिनिधि सभामा तीन वर्षअघि पेस भइ प्रतिवेदन समेत बनेको विधेयक समेतका पक्षहरूको अध्ययन गरेर मात्र नयाँ कानुन बनेको खण्डमा नागरिकताको विषय विवादित नहुने राष्ट्रपतिको सन्देश थियो।
नागरिकता प्राप्तिका सम्बन्धमा विगतदेखि नै कायम रहेका सवालहरूलाई सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रपतिले यी सवाल सम्बोधन हुनुपर्नेमा जोड दिएकी थिइन्।
नागरिकता सम्बन्धी व्यवस्थालाई कति उदार वा कठोर बनाउने आमाको नामबाट सन्तानले सम्मानपूर्वक नागरिकता प्राप्त गर्नका लागि अझै कतिन्जेल पर्खिनुपर्ने ? सन्तानले नागरिकता प्राप्त गर्ने प्रक्रियामा प्रजननसँग सम्बन्धित आमाको मौलिक हक, गोपनीयता, निजी जीवन, आत्मसम्मान र गरिमालाई कसरी रक्षा गर्ने ? योग्य नेपाली नागरिकले नागरिकता प्राप्त गर्न असमर्थ भएकै कारण संविधानप्रदत्त अधिकारको उपयोग र कर्तव्यको पालना गर्नबाट कतिन्जेल वञ्चित हुनुपर्ने ? नागरिकताको माध्यमबाट राष्ट्रिय एकतामा प्राप्त हुने सामर्थ्यलाई मध्यनजर गरी यी प्रश्नहरूमाथि अत्यन्तै गम्भीरतापूर्वक चिन्तन र विमर्श हुन अत्यावश्यक रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख थियो ।
विश्वका अरु व्यवस्था तथा असल अभ्यासको अध्ययन र अवलोकन गरी त्यसलाई नेपाली नागरिकको सापेक्षतामा, यहाँको सामाजिक यथार्थलाई सम्बोधन हुनेगरी लागू गर्नुपर्ने सुझाव दिँदै राष्ट्रपतिले अङ्गीकृत नागरिकताको विषयलाई स्थायीरूपले समाधान गर्नुपर्ने पनि सन्देश दिएकी थिइन् ।