काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
दुईदिन सम्म आयोजना भएको उक्त सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गर्ने, आगामी संसदीय चुनावमा पचास प्रतिशत युवा उम्मेदवारी कायम गर्न राजनितिक दल, संसद तथा सरकारसंग पहल गर्ने, सीप प्रबर्द्धन र उद्धमशिलता मैत्री नीति र संरचना स्थानीय तहसम्म बिस्तार गर्न माग गर्ने लगायत ९ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो । सम्मेलनबाट जारी काठमाडौं घोषणापत्र राष्ट्रिय युवा परिषद्लाई हस्तान्तरण गरिएको छ ।
सम्मेलन समापन कार्यक्रममा प्रमुख अतिति राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ४०५ भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरु नयाँ आसा पलाएको बताए । उनले अधिकारको आन्दोलनमा मात्र अगाडि बढ्ने युववर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताए।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा वातावरणविद् श्यामकृष्ण श्रेष्ठले आफ्नो ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए ।
यस्तै, टि.डि.एच. जर्मनीका नेपालका प्रतिनिधि मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवाक्लव र सञ्जाल तथा सबै सरोकारवालाहरु संगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताए।
यसैगरी इन्सेक नेपालका निर्देशक श्रीराम बजगाई, हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाही, आयोनका महासचिव खिमानन्द देवकोटा सिविस नेपालका प्रतिनिधि लगायतले युवा अधिकार र अभियानका विषयमा आफ्नो भनाई राखेका थिए ।
दुईदिनसम्म काठमाडौंमा आयोजना भएको उक्त सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए भने राजनीति र युवा नेतृत्व सम्बन्धी समूहगत छलफलमा अतिथी वक्ताहरु नेपाली काङ्ग्रेस केन्द्रीय कमिटी सदस्य नैनसिंह महर, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य माधव ढुङ्गेल, नेकपा माओवादी केन्द्र पोलिटव्यूरो रामदिप आचार्य, नेकपा एकिकृत समाजवादी केन्द्रीय कमिटी सदस्य रमा आलेमगरले वर्तमान नेपाली राजनीतिमा देखिएका चुनौती, अवसर तथा सम्भावना विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।
दिगो विकासका लागी राष्ट्रिय युवा सञ्जाल, नेपालको आयोजना , राष्ट्रिय युवा परिषद्, नेपाल पर्यटन बोर्ड र गैरसरकारी संस्था महासंघ सँगको समन्वय तथा टि.डि.एच.जर्मनी, ए.आई.एन. स्ट्रोम फाउन्डेसन, गुड सेफर्ड, हुरेन्डेक नेपाल, ग्रामीण विकास संस्था काभ्रे लगायत २० भन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु संगको समन्वयमा भएको कार्यक्रममा देशैभरिबाट १०० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।