काठमाडौं । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको दुखद निधन भयो । जिल्लाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा आईतबार राती सुतिरहेको अवस्थामा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र ४ महिनाको छोरो टिकारामले अकालमै ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार श्रेष्ठकाअनुसार उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट जस्ताले छाएको दुई तले घर पूर्णतया क्षतिग्रस्त भएको छ ।
आगलागी कसरी भयो ?
घरमा सुतिरहको अवस्थामा आगलागी भएर उनीहरुको मृत्यु भएको बताइएपनि आगलागीको कारण अझै खुल्न सकेको छैन । स्थानीयबासी र प्रहरीले आफ्नै अडकल र अनुमान गरिहेका छन् । घरमा आगलागी भएपछि खाना पकाउने एलपी ग्याँसको सिलिन्डर पड्किएर थप आगलागी भएको हुन सक्ने स्थानीयबासीको अनुमान छ ।
प्रहरी अनुसन्धानले के भन्छ ?
आगलागीपछि स्थानीयले खबर गर्दा जिल्ला प्रहरी कार्यालयको टोली राती सवा ११ बजे मात्रै घटनास्थल पुगेको हो । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहायताले लामो समयपछि आगो निभाएको थियो । आगो निभाउने क्रममा सिलिन्डर पड्किएको आवाज आएको प्रहरीको भनाई छ । घरका सबै सदस्यको मृत्यु हुनु र घरसमेत जलेर पूर्णरुपमा ध्वस्त हुँदा तत्काल घटनाको कारण पत्ता लगाउन कठिन भएको प्रहरीको भनाई छ ।
चिन्न नसक्ने अवस्थामा छन् शव
आगलागीबाट शरिरको अधिकांश भाग जलेको हुँदा मृतकका शव पहिचान हुन नसक्ने अवस्थामा छन् । उनीहरुको शरिरको आधाभन्दा बढि भाग जलेको हुँदा उनीहरुलाई सहजै चिन्न सकिदैन । यतिसम्म की लगाएको लुगासमेत शरिरमै जलिसकेको अवस्थामा छन् । शवको आकारबाट मात्र आमा–बाबु र २ सन्तानबारे अनुमान गर्न सकिन्छ ।
शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पतालमा
घटनास्थलबाट फर्किएको प्रहरीकाअनुसार शवहरुको मुचुल्का तयारी पारी अहिले चारै जनालाई पोष्ट माष्टर्मका लागि मेची अञ्चल अस्पताल लगिएको छ । पोष्टमार्टमपछि मात्रै उनीहरु सबैको शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
घटना शंस्कास्पद
आगलागी कसरी भयो भन्ने वास्तविकता पत्ता नलागेका कारण पनि घटना शंकास्पद देखिन्छ तर सुतिरहेकै अवस्थामा आगलागी हुँदा आगोको झिल्को वा ज्वलनशील पदार्थ नजिकै रहेको हुन सक्ने आँकलन गर्न सकिन्छ । पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानले घटनाको वास्तविकता पत्ता लगाउन सहज हुने देखिन्छ ।