काठमाडौं । मधेश सरकारले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ । मधेश सरकारका प्रदेश प्रमुखको कार्यालय अगाडि सुरु भएको धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित अन्य मन्त्रीहरु पनि सहभागी छन् ।
प्रहरी समायोजनको विषयलाई लिएर उनीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । सोही क्रममा मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले धर्नालाई नौटंकीको संज्ञा दिएको छ ।
यसैबीच, प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले औचित्यहीन बताएको छ ।
लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ ।
लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए ।
यहाँ आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेको भन्दै उनी आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने बताउँछन् ।
‘नेपाल सरकारमाथि दबाव बनाउन काठमाडौं केन्द्रीत आन्दोलन भए त्यसमा प्रतिपक्षी दलको पनि भूमिका हुन्छ’ उनी भन्छन्, ‘यसो भए हाम्रो पनि सकृय सहभागिता रहन्छ । होइन भने प्रदेश सभामा यहाँ बसेर गर्ने आन्दोलनको कुनै औचित्य छैन् ।’