काठमाडौैं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फोहर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै प्रस्तावसहित एमालेसँग संवादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे।
उनले भने, ‘यसअघि काठमाडौंको फोहर १४ दिनसम्म नउठेको इतिहास छ । आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरू बेखबर छन् । फोहरले काठमाडौं डुङडुङ गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । त्यसैले म काठमाडौंका मेयरलाई भन्न चाहन्छु, प्रस्तावसहित एमालेसँग आउनुहोस्, एमालेसँग त्यो भिजन छ । दृष्टिकोण छ । यदि तपाईँ सरकारको भर पर्नुभयो भने तपाईँ असफल हुने निश्चित छ । सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौँ ।’
यस्तै प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरे । उनले भने, ‘मैले आजभन्दा ६० दिन अगाडि एउटा प्रस्ताव पेस गरेको थिएँ ।
फेरि पनि म यो प्रस्ताव पेस गर्न चाहन्छु, यदि इच्छाशक्ति भएको मान्छे भयो भने मात्रै काठमाडौंको फोहर उठ्छ । तत्काल शक्तिशाली एउटा समिति गठन गरियोस् । शक्तिशाली समिति देशकको राजधानीलाई व्यवस्थापन गर्न हो । हुन्छ भने मेरै नेतृत्वमा गरौँ ।’
मानन्धरले अस्तव्यस्त, ध्वस्त काठमाडौं जस्तै अहिले संसदको पनि कोरम पुग्छ कि पुग्दैन भन्ने स्थिति रहेको गुनासो गरे । संसद् भवनको वरिपरि हेर्यो भने चुहिएर बस्न नहुने अवस्था रहेको उनको भनाइ छ ।