काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बिहीवार को बैठक पनि खास निष्कर्षमा नपुगी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २०७४ सालकै नतिजाका आधारमा सिट भागबन्डा गर्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेसले भने पालिका चुनावको लोकप्रिय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।
सत्ता गठबन्धनको कार्यदल बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे छलफल भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको कार्यदलका सदस्य देव गुरुङले बताए ।
कार्यदलका सदस्य गुरुङले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’
कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए । गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ ।
उनले विगतमा दलहरूले पाएको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए ।
‘स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मतलाई हेर्ने कुरा छ । विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन। केही दल पहिले अस्तित्वमा थिएनन्,’ ,’ उनले भने ।