काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले काठमाडौंको ३ क्षेत्रमा दाबी गर्ने भएका छन् । सत्तारुढ गठबन्धनमा तालमेल हुँदा एकीकृत समाजवादीले काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा दाबी गर्ने जनाएका छन् ।
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये हाल एकीकृत समाजवादीका दुई सांसद छन् । एकीकतृ समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं–२ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ का सांसद हुन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानान्धरका अनुसार उनको पार्टीले काठमाडौं क्षेत्र नम्बर २ र ७ सँगै ८ मा दाबी गरेको छ । तीमध्ये कुनै एक छोड्नु पर्दा काठमाडौं क्षेत्र नं आफूहरुको रोजाइ रहेको मानान्धर बताउँछन् ।
कुन कुन निर्वाचन क्षेत्रबाट अगाडि बढाउने भन्नेमा गृहकार्य सुरु गरिसकेका छौं,’ उनले भने, ‘गठबन्धन हुँदाको अवस्थामा को–हो र गठबन्धन नहुँदाको अवस्थामा को–कोलाई अगाडि बढाउने भन्ने गरि पनि छलफल भइरहेको छ ।’
आकांक्षीहरु
काठमाडौं–२ का सांसद माधव नेपाल आगामी निर्वाचनमा कहाँबाट उम्मेदवार बन्लान् भन्ने धेरैको चासो छ । तर एकीकृत समाजवादीका नेताहरु टुंगो लाग्न बाँकी रहेको बताउँदै आएका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले माधव नेपालका लागि काठमाडौं भन्दा उनको गृह जिल्ला रौतहट सहज हुने देखाएको छ ।
तर सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा उनले काठमाडौंलाई नै निरन्तरता दिन सक्ने पनि कतिपय नेताहरुको बुझाइ छ । काठमाडौं इन्चार्ज मानन्धर पनि आफूहरुको जोड अध्यक्ष काठमाडौंबाट लड्नुपर्छ भन्ने रहेको बताउँछन् ।
अध्यक्ष नेपालले निर्णय गरिनसकेका कारण अरु नेताहरुले पनि काठमाडौं क्षेत्र नम्बर २ मा आकांक्षा राखेका छैन् । काठमाडौं क्षेत्र नं ७ बाट बसन्त मानान्धर आकांक्षी छन् ।
यो क्षेत्रबाट यसअघि नेकपा एमालेका नेता रामवीर मानान्धरले चुनाव जितेका थिए ।