काठमाडौं । गए रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
क्रमिकरूपमा मुलुकभर नै वर्षा बढ्दै जाने मौसमविद्ले जनाएका छन् । आज देखि भने वर्षाको मात्रा अझ बढ्ने महाशाखाको अनुमान छ । विभागको बाढी सूचना केन्द्रका अनुसार इलाम, झापा र मोरङमा भारी वर्षा भएपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट जोगिन त्यस क्षेत्रका मानिसलाई एसएमएसमार्फत सूचित गरिएको छ ।
भारी वर्षापछि मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा(रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलामा बाढी आउन सक्ने ठानिएकाले सतर्क रहन आह्वान गरिएको हो ।
यस्तै कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी वर्षा भएपछि त्यस क्षेत्रका कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायतका नदीमा बाढीको खतरा रहेपछि त्यस क्षेत्रमा पनि एसएमएसमार्फत ‘अलर्ट’ गराइएको छ ।