काठमाडौं । महिला सांसदहरुले प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवारी हुनपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आज उनीहरुले यस्तो बताएका हुन् ।
सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम उत्पन्न भएको बताएका छन् । उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाइन् ।
यस्तै सांसद लक्ष्मी परियारले संविधानले व्यवस्था गरेको राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागितालाई व्यावहारिक कार्यान्वयन गराउन निर्वाचनका दुवै प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने बताइन् ।
यस्तै सांसद चन्दा चौधरीले राजनीतिक दलले विभिन्न निर्वाचनमा महिलाको कम प्रतिनिधित्व गराउने गरेको बताउँदै अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन माग गरीन् ।
यसैबीच, सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ । यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले बताए ।
सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले यस्तो बताए ।
सरकारले सबैलाई समावेशी सहभागिताको विषयमा सचेत गराउने कार्य गरिरहेको उनको भनाइ छ ।