काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
यसैबीच, आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्ताधारी दलहरुले प्रतिनिधि सभाको सिटको बाँडफाँट मिलाउन ११ सदस्यीय समिति बनाएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मेलित कार्यदल बनाइएको हो ।
आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले ११ सदस्यीय समिति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
समितिमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहन्ुभएको छ भने एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य रहेका छन् ।
जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
कार्यदलले कुन दलले कति सिट पाउने भन्ने विषयमा ‘मोडालिटी’ तयार गरेर गठबन्धनका शीर्ष नेताहरुलाई सिफारिस गर्ने जनाइएको छ ।