काठमाडौं । पूर्वी नेपालम अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढ्दै गएपछि चार हजार परिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पानीको सतह बढ्दै गएपछि सप्तकोसी नदीको बाँध फुटेर बाढी बस्तीमा पसेसँगै स्थानीयवासी प्रभावित भएका छन् । बाँध फुटेर उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ को बस्तीमा बाढी पसेको हो ।
सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ पनि डुबानमा परिसकेको छ । बुधवार बिहान सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।
बस्तीमा बाढी पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका झन्डै २० हजार मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ । नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयवासीको भनाइ छ ।
बस्तीमा बाढी पसेसँगै स्थानीयवासी आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् । गाउँ डुबिनसकेपनि सरकारले डुब्न सक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
पानीको मात्रा बढिरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयवासीले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।
नदी कटानले कोसीको बहाव गाउँतिर पसेको स्थानीयवासी बताउँछन् । बराह क्षेत्रको श्रीलङ्का टापुमा गए रातिदेखि सप्तकोसीको भङ्गालो पसेकोले त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ ।
सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका ८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ ।
सप्तकोसीबाट बस्ती क्षेत्रमा पसेको बाढीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्नसक्ने अनुमान छ ।