काठमाडौं । विवेकशील साझाको अध्यक्षमा तीन जनाले दाबी प्रस्तुत गरेका छन्। स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै सो पार्टी नेतृत्वविहीन रहेको छ ।
मिश्रको विकल्पका रुपमा विवेकशील साझाका सचिवालय सदस्य प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी, पार्टी संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले दाबी प्रस्तुत गरेका हुन् ।
सहमतिमा नेतृत्व चयनका लागि अध्यक्षका दाबेदार परियार, अधिकारी र पाण्डेबीच पटक छलफल हुँदै आएपनि सहमति भने हुन सकेको छैन ।
विवेकशील साझाका संस्थापक सदस्य समेत रहेका परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारीमा छन् ।
पछिल्लो समय मिश्रको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगसम्म पुग्ने समूहको नेतृत्व विवेकशील साझाका जेष्ठ सदस्य अधिकारीले गरेका थिए ।
यस्तै पाण्डे विवेकशील नेपाल दल र साझाबीच एकीकरण हुँदा विवेकशील साझाको संयोजकको बनेका थिए । गत पुस ६ गते मिश्रले पाण्डेलाई संयोजकको जिम्मेवारीबाट हटाएका थिए ।
मिश्रले अध्यक्षबाट राजीनामा दिँदा पाण्डेमाथिको कारबाही स्वतः फिर्ताको घोषणा गरेका थिए । तर केन्द्रीय समिति बैठकले औपचारिक रूपमा पाण्डेमाथि भएको कारबाही फिर्ता लिइसकेको छैन ।
यद्यपि परियार, अधिकारी र पाण्डे खुलेर अध्यक्षको तयारीमा जुटेको विवेकशील साझाका एक नेताले बताए । एक नेता अनुसार आकांक्षीहरुबीच पटक पटक छलफल भइसकेका छन् ।
सो क्रममा उनीहरुबीच नेतृत्वका साथै सैद्धान्तिक र वैचारिक विषयमाथि छलफल केन्द्रित छ ।