काठमाडौं । सोलुखुम्बुबाट १२ सय ४८ दशमलव ३ क्विन्टल जडीबुटी गैर काष्ठ वन पैदावर निकासी भएको छ । गत आर्थिक वर्ष २०७८र०७९ मा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट सो बराबरको जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार १२० किलो जडीबुटी निकासी भएको कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीले बताए ।
लिखुपिके, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी गैर काष्ठ वन पैदावर निकासी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३ दशमलव ९६ हेक्टर, निजी १८५ दशमलव ५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
ती वन क्षेत्रहरुबाट मछिनो, चिराईतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफुल लगायतका जडीबुटी निकासी हुने गरेको अधिकृत चौधरीले बताए ।
यी जडीबुटीहरु औषधिका लागि झापा, काकड्भिट्टा, काठमाडौं हुँदै भारत निकासी हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।