काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन गठित तीन सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने सम्मिलित कार्यदलले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।
बुधबार (आज) अध्यक्ष प्रचण्डलाई खुमलटारै पुगेर प्रतिवेदन बुझाएको सदस्य ढकालले बताए । ‘हामीले अखिल क्रान्तिकारीमा जे समस्या देखिएको छ त्यसका विषयमा अध्ययन गर्यौं । समस्या समाधानको विषय प्रतिवेदनमा समेटेका छौ’ ढकालले भने,‘हामीले दिएको सुझावका आधारमा विवाद साम्य हुने अपेक्षा लिएका छौ ।’
अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउन तीन विकल्प दिएको छ । जसमा पहिलो विकल्पको रुपमा सिंह नेतृत्वले कार्की नेतृत्वको संयोजकलाई कारवाही फिर्ता लिनुपर्ने छ भने कार्की नेतृत्वले आफ्नो गतिविधि बन्द गरेर दुवै पक्षलाई एक ठाउँमा ल्याएर समाधानको बाटो निकाल्ने भनिएको छ ।
यस्तै दोस्रो विकल्पको रुपमा ‘कार्की नेतृत्वको गतिविधि बन्द गरेर उनलाई पार्टीमा उचित व्यवस्थापन गरेर निकास निकाल्ने’ भनिएको छ । अन्तिम विकल्पको रुपमा विशेष राष्ट्रिय सम्मेलन गरी नयाँ नेतृत्वको प्रक्रियामा जाने सुझाव तयार गरिएको छ ।
अखिल क्रान्तिकारी अध्यक्ष पन्चा सिंहले कमिटीलाई पूर्णता दिएलगत्तै पवन कार्कीले समानान्तर कमिटी बनाएका थिए । त्यसपछि विद्यार्थीको विवाद पार्टीलाई समेत टाउको दुखाई भएको छ ।
विद्यार्थी संगठनका नेताहरुले चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा आउन पाउनुपर्ने माग राखेका थिए । अन्तिममा पार्टी अध्यक्षले चुनावी प्रतिस्पर्धामा जान नदिएपछि विवाद चुलिएको हो ।
अहिले पार्टीले सजिलै विवाद हल गर्न नसकेपछि अध्ययन गर्न गत असार २५ गते बसेको माओवादी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन पूर्व अध्यक्षको नेतृत्वमा समिति बनाएको थियो ।
जसमा पूर्व अध्यक्ष एवम् पोलिटब्युरो सदस्य रमेश मल्ल सहित केन्द्रीय सदस्यद्वय नरेन्द्र न्यौपाने, रत्न ढकाल थिए ।