काठमाडौं । नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेपछि बैठक नै स्थगित गर्नुपर्यो ।
बुधबार प्रतिनिधि सभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् ।
सभामुखले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् । उनले भने–‘नेपाल सरकारलाई गाह्रो पर्यो, अमेरिकालाई पत्र पठाउन रुलिङ गर्नुपर्यो ।
प्रतिनिधि सभाको यो बैठकले सहयोग गर्नुपर्यो । सरकारले रद्ध गर्ने निर्णयको स्वागत गर्छु । प्रतिनिधि सभाको ताकत सरकारलाई देखाउनुपर्यो ।’
धेरैबेर रावलले माग गरेपछि केही सांसदहरुले नियमापत्ति जनाए । साथै केही सांसदहरुले माइक काट्न सभामुखलाई आग्रह गरे । तर सभामुखले माइक नकाटी सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउँदा पनि रावलले रोष्टम छाडेनन् ।
रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताउँदै सभामुखले उक्त कुरा विषयान्तर भएको बताउँदै रावललाई आफ्नो सिटमा गएर बस्न भने । तर सांसद रावल पछि हटेनन् ।
राष्ट्रियताको विषय भएकोले विषयान्तर नभएको जिकिर गर्दै उनले सरकारलाई रुलिङ गर्दै एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नका लागि रुलिङ गर्न माग गरिरहे ।
केही सिप नलागेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । १५ मिनेटपछि बैठक पुन सुरु भएको छ ।