काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयरबजार परिसूचक नेप्से बढेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै बढ्न सुरु गरेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो ।
मंगलबार १६.२० अंकले बढेको नेप्से २०४५.६३ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस दिन बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८० अंकले बढेर ३९१.५६ बिन्दुमा उक्लिएको छ ।
कारोबारमा आएका १३ वटै समूहका सूचक हरियो देखिँदा सर्वाधिक फाइनान्स समूहको २ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा व्यापार, होटल्स एण्ड पर्यटक, डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र माइक्रोफाइनान्स समूहको सूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।
यस दिन २१३ वटा कम्पनीको शेयर कारोबार हुँदा १४६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २९ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
मंगलबार २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको ५७ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबारमा कुल रकम र कुल शेयर कित्ता दुवै बढेको देखिन्छ ।
यस दिन सर्वाधिक कमाउनेमा इमर्जिङ नेपालका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीको शेयरमूल्य ८ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता ८३६ कायम भयो ।
साथै, सिभिल बैंक डिभेन्चरको शेयरमूल्य सर्वाधिक ७ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ९२२ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक शेयर कारोबार भने शिवम् सिमेन्टको भएको छ । कम्पनीको १५ करोड ९७ लाख ७१ हजार कित्ता शेयर कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता ७८४ रुपैयाँ कायम भयो ।