काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पहिलोपटक आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले टेकुमा अत्याधुनिक सेवासहितको पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । यस पम्प निर्माण गर्नका लागि टेण्डर आह्वान भइसकेको छ ।
काठमाडौं उपत्यकामा करिब १०० वटा पेट्रोल पम्प छन् । जसमध्ये सरकारी र सहकारीले सञ्चालन गरेका पम्पको संख्या १२ वटा छन् । यसमा साझा, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले सञ्चालन गरेका पम्प छन् ।
यसबाहेक, उपत्यकामा सञ्चालित सबै पम्प निजी क्षेत्रबाट सञ्चालित रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले निगमले पहिलोपटक काठमाडौं उपत्यकामा आफ्नै पेट्रोल पम्प सञ्चालनमा ल्याउने गरी निर्माणको ठेक्का आह्वान गरेको बताए ।
यसअघि, निगमले भैरहवा र नेपालगञ्जमा पनि आफ्नै पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । ‘निगमले विस्तारै पेट्रोलियम बजारमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको छ,’ उपाध्यायले भने, ‘सोहीअनुसार, सात वटै प्रदेशमा कम्तिमा १/१ वटा पम्प सञ्चालन गर्छौं ।’
यसअघि, पेट्रोलियम व्यवसायीहरू देशव्यापी हड्तालमा उत्रिएर सेवा अवरुद्ध गरेको समयमा निगमका पम्पहरूले निर्वाध सेवा दिइरहेका थिए । सोहीकारण, पेट्रोलियम पदार्थको बिक्री गर्ने पम्पकारूपमा सरकारी र सहकारी तथा निगमका पम्पहरू चाहिने देखिन्छ ।
सरकारी वा सरकारी निकाय तथा सहकारीको लगानीमा सञ्चालनमा रहेका पम्पहरूले हड्तालका नाममा सेवा अवरुद्ध पार्दैनन् । नेपाल आयल निगमले टेकुमा अत्याधुनिक पम्प बनाएर सञ्चालन गर्ने भएको छ ।
निगमले यही असार ३१ गते पम्प निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । आह्वान भएको सूचनाअनुसार २४ सै घन्टा सेवा दिन सक्नेगरी पम्प बनाउनुपर्ने छ ।
काठमाडौं उपत्यकामा दैनिक ७ लाख लिटर डिजेल र १० लाख लिटर पेट्रोल बिक्री हुँदै आएको छ ।